हरिभक्तका बुवा क्षत्री थिए, थर ढकाल। यही आधारमा उनको थर ढकाल रह्यो, बुवाको जात भने पाएनन्।

अलि बुझ्ने भएपछि उनको मनमा एउटा प्रश्न उठ्यो- मैले बुवाको जात किन पाइनँ?

उनलाई गाउँमा, खेतमा र साथीभाइमाझ छोइछितो हुन्थ्यो, जुन उनले पचाइसकेका थिए। स्कुल भर्ना भएपछि पढाउने गुरूदेखि विद्यार्थीसम्मले उनलाई छोइछितो गर्न थाले।

गाउँमा यो व्यवहारले उनको खासै चित्त दुख्दैनथ्यो। स्कुलमा पनि त्यही भएपछि उनको मन नटालिने गरी फाट्यो।

‘पढाउने सरहरूले पनि छोइन्छ भनेर तर्किँदा मन खिन्न हुन्थ्यो। साथीहरूले त सार्की भनेर हेलाहोचो गर्थे। उनीहरूलाई मन लागे कुट्थे। हामीले केही बोल्नै पाउन्नथ्यौं,’ हरिभक्तले भने, ‘यस्तो व्यवहार सहनै सकिन्थेन। चित्त पनि बुझ्दैनथ्यो।’

आफूमाथि अन्याय भयो भनेर कुरा लगाउन जाने पनि कहाँ र? तिनै छोइछितो गर्ने मास्टरकहाँ? उनीहरूको नजरमा त आफूलाई उनले कहिलै मान्छेसम्म देखेनन्।

सबभन्दा बढी चित्त त हरिभक्तलाई एउटै कक्षामा पढ्ने आफ्नै काकाका छोराले ‘सार्की’ भन्दा दुख्थ्यो।

तीन-चार वर्ष स्कुल जाँदा उनले कखराभन्दा ज्यादा अपमान सहन सिक्नुपर्‍यो। उनी मास्टरकहाँ उजुरी लिएर जान सकेनन्। बरू स्कुलै जान छोडिदिए।

पाँचखालमा मावली हजुरआमाले दिएको ४ रोपनी बारी थियो। बारीमा धानबाहेक अरू अन्न फल्थ्यो। स्कुल जान छाडेदेखि उनले आमाबुवालाई सघाउनुपर्‍यो। विस्तारै बाहिरफेर काम गर्न जान थाले।

ठूलो भएपछि एकदिन बुवाको अंशबारे घरमा कुरा भयो। उनका बुवाले भने- मैले त घरबाट अंश लिएकै छैन। यो सबै जति छ, तिमीहरूको मावली हजुरआमाले दिएकी हुन्।

त्यसपछि पैतृक सम्पत्तिबारे कुरा गर्न उनी पल्लो गाउँमा रहेका काकाकहाँ पुगे।

काकाको आँगनसम्म त उनी गइरहन्थे, सानैदेखि। त्यहाँ उनले कहिल्यै आफ्नोपनको न्यानो भेटाएनन्। त्यो दिन अंशको साटो उनले आफ्नो जातको कहानी सुने।

यो अरनिको राजमार्ग बन्ने बेलाको कथा हो। उनका बुवा राजमार्ग खन्ने कामदारका नाइके थिए। घरमा श्रीमती थिइन्, तर उनको मन राजमार्गमै बस्न थाल्यो। किनभने त्यहाँ बाटुली मिजार थिइन्। राजमार्ग बन्नुपहिल्यै उनीहरूको प्रेम यात्रा सुरू भइसकेको थियो।

क्षत्रीको छोरा र मिजारकी छोरीको प्रेमकहानी कोशौं टाढा चौतारा र खलिहानमा चर्चाको विषय बनिसकेको उनीहरूले हेक्का पाएका थिएनन्। वा, पाएर पनि प्रेमबाहेक उनीहरूको संसारमा सबै नगन्य थिए। तर त्यो बेलाको समाजले यसलाई पचाउँथेन।

उनका हजुरबुवाले बुवालाई बोलाए। गाउँलेको साथ लगाएर भारत पठाए। तर, उनी गएनन्। फर्किएर बाटुली भएकै ठाउँ आए। यति बेलासम्म उनकी पहिली श्रीमती माइत पुगिसकेकी थिइन्।

उनीहरूको प्रेमका अगाडि परिवारले हार खायो। तर जातको अहम् किन मान्थ्यो?

‘गाउँका जान्ने-सुन्ने पढालेखा मानिस जम्मा भएछन्। बुवाको जनै काटिदिएछन् र मिजार गाउँमै बस् भन्दै पठाएछन्,’ हरिभक्तले काकाबाट सुनेको आफ्ना आमाबुवाको कथा सुनाए।

उनका आमाबुवाको बिहे भयो। यसरी उनका क्षत्री बुवाको ‘जात घटुवा’ भएको थियो।

‘अनि अशंमा त बुवाको हक लाग्छ, अहिलेसम्म पाउनुभएको रहेनछ,’ त्यतिखेर हरिभक्तले काकासँग भने।

काकासँग पनि उत्तर तयार थियो।

‘तेरो बुवालाई भारत पठाउन बाले खेत बेचेर पैसा दिनुभएको थियो। तिमीहरूको अंश त्यही हो,’ काकालाई उद्धृत गर्दै उनले सुनाए।

उनी आफ्ना आमाबुवाको प्रेमकहानी र आफ्नो जातको कथा सुनेर रित्तो हात फर्किए।

धेरै समयपछि उनका बुवाको मृत्यु भयो। हरिभक्तले चार वर्षयता आफ्ना बुवाको श्राद्ध गर्न पाएका छैनन्। बर्सेनि आउने दसैं-तिहार मनाएका छैनन्। किनकि, हरिभक्तका मृत छोरा अजितको शव महाराजगन्ज टिचिङ अस्पतालको शवगृहमा छ।

‘छोराको दाहसंस्कार नगरी बुवाको श्राद्ध कसरी गरूँ?’ उनले भने, ‘न्याय नपाई उसको आत्माले शान्ति पाउन्नजस्तो लाग्छ, कसरी जलाऊँ?’

उनको जिन्दगीमा जातको कथाले अर्को मोड लिएको यो दोस्रोपालि थियो।

उनका छोराछोरीले स्कुलमा छुवाछुत भोग्नुपरेन। साथीभाइले दलित भनेर हेपेको गुनासो लिएर उनीहरू घर आएनन्। बरू उनका छोराछोरी आफ्ना साथी लिएर घर आइरहन्थे। उनीहरूका साथी सबै जातका हुन्थे।

उनलाई जमाना नयाँ पो आयो भन्ने लाग्दै थियो।

२०७३ असारमा उनका कान्छा छोरा अजितले क्षत्री केटी बिहे गरे। घरमा पनि ल्याएनन्। भक्तपुर दिदीको घर गएछन्। साथी भनेर बेला-बेला घर आइरहने केटी हो भन्ने थाहा पाएर उनी ढुक्क थिए।

असार २५ गते उनीहरू भागे पनि २६ गते केटीका बुवाले प्रहरीमा उजुरी दिइसकेका थिए।

त्यति बेला अजित १८ वर्षका मात्र थिए। केटीको उमेर पनि त्यस्तै। सानैमा बिहे गरेँ भनेर उनीहरूलाई पिर भने थियो।

असार २७ गते उनीहरू सबै प्रहरी थाना गए। थानामा केटी पक्षका मानिस पनि जम्मा भए। उमेर नपुगी बिहे गरेकाले खारेज हुने सहमति दुवै पक्षको भयो। दुवै पक्षले आ-आफ्ना छोराछोरी जिम्मा लिने कागज गरे। केटी भने छुटेर घर जान मानिरहेकै थिइनन्।

सबै आ-आफ्ना घर गए। 

असार २८ गते दिनभरि केटीपक्षका मानिसले फोन गरेर धम्क्याउने-फकाउने गरेको हरिभक्त बताउँछन्। उनका अनुसार अजितलाई पनि निरन्तर अन्जान मानिसले फोन गरेका थिए। अजितलाई मात्र होइन, उनका दाजु दिपेन्द्र र आमालाई पनि फोन आएको थियो। 

‘वकिल हुँ, तिमीहरूको छोरालाई बलात्कार मुद्दा लगाइदिन्छु भनेर फोन गर्थे, कहिले के भनेर थर्काउँथे,’ उनले भने। 

असार २९ गते अजित कलेज जाने भन्दै दिउँसो साढे १ बजेतिर घरबाट निस्किए। साँझ घर आएनन्। फोन पनि उठाएनन्। भोलिपल्ट पनि आएनन्। हरिभक्त र परिवार आत्तिए। आफन्त, साथीभाइ सबैतिर सम्पर्क गरे, अजितको पत्तो भएन।

साउने संक्रान्तिका दिन अजितकी आमा बजार गइन्। बजारमा अजितका साथीका बुवाको पसल थियो। साथी भने पोखरामा थिए। आमाको आश थियो, अजित आफ्ना साथी भेट्न पोखरा पो गए कि?

ती पसलेले भने- मेरो छोराकहाँ त ऊ गएको छैन।

बरू उनले आफ्नो मोबाइलमा एउटा फेसबुक पोस्ट देखाइदिए।

धादिङका एक जना किशोर रूखमा झुन्डिएको विवरणसहित समाचार थियो त्यो। समाचारको फोटो देख्नासाथ अजितकी आमाको होस हरायो। 

मान्छे जम्मा गरेर अजितका बुवा त्यही दिन धादिङको गजुरी पुगे। घटनास्थल परेवाटार भन्ने ठाउँमा रहेछ। स्थानीय प्रहरीसँग उनीहरूको भेट भयो।

‘हामीले त पोस्टमार्टम गरेर लास गाडिसक्यौं,’ त्यहाँका प्रहरीले उनीहरूलाई उत्तर दिए, ‘मृतकको सनाखत हुन सकेन, अनि हामीले गाड्यौं।’

प्रहरीको यो भनाइ हरिभक्तलाई गैरजिम्मेवार मात्र होइन, षड्यन्त्रको गन्ध मिसिएको पनि लाग्यो। उनीहरूले गाडिएको ठाउँबाट अजितलाई झिके।

‘पोस्टमार्टम गरेको भन्दै थियो, तर गरेजस्तो केही थिएन। पोस्टमार्टम गर्दा शरीर चिर्छ नि, त्यस्तो चिरेको थिएन,’ हरिभक्तले सम्झिए, ‘त्यसरी हतार-हतारमा त मिलेमतो नभई किन गाड्थ्यो? कम्तिमा सोधिखोजी त प्रहरीले गर्नुपर्थ्यो।’

प्रत्यक्षदर्शीले उनीसँग भनेका थिए- त्रिपालको डोरीमा झुन्डिएको, खुट्टाले भुँइ छोएको थियो।

प्रहरीको मुचुल्कामा पनि यही कुरा उल्लेख थियो।

गाडेको शव झिकेर उनीहरूले शिक्षण अस्पताल महाराजगन्ज ल्याए। पोस्टमार्टम गरियो। रिपोर्टमा यति मात्र थियो- ह्याङ्गिङ अर्थात् झुन्डिएको।

आवश्यक अनुसन्धानबिनै आत्महत्या भनेर शव गाडीसकेको प्रहरीले बल्ल अनुसन्धान अघि बढायो। शव झुन्डिएको हो कि उसलाई झुन्ड्याइएको हो भन्ने कुराको खोजी धेरै गरेन।

हरिभक्तको जाहेरी, शवको प्रकृति र परिस्थितिजन्य विश्लेषणका आधारमा सरकारी वकिलले हत्या मुद्दा दायर गर्‍यो।

धादिङ जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा ध्रुव भन्ने भोजबहादुर पराजुलीले छोरीसँग प्रेममा परी बिहे गरेका अजितसँग उनलाई सदाका लागि छुटाइदिने योजना बनाएर पिछा गरेको र रक्सी खुवाएर अर्धचेत अवस्थामा पुर्‍याई झुन्ड्याएको उल्लेख छ।

भोजबहादुर मात्र होइन, उनकै भतिजा पर्ने टेकबहादुर पराजुली र छोरी सम्झना पराजुली कार्की अजितको हत्यामा संलग्न भएको अभियोग सरकारी वकिलले लगायो।

‘ध्रुव भन्ने भोजबहादुर पराजुली, विनोद भन्ने टेकबहादुर पराजुली, सम्झना पराजुली (कार्की) समेतले निगरानी गरी परिपञ्च मिलाई २०७३ असार २९ गते घरबाट निस्किएका अजितलाई घटनास्थल पुर्‍याई, रक्सी खुवाई अर्धचेत अवस्थामा ल्याएर झुन्ड्याइ मारेको दशी सामानबाट पुष्टि हुन आएको छ,’ अभियोगपत्रमा भनिएको छ।

शव खुम्चिएको र भुइँमा टेकेको भन्ने मुचुल्काले कर्तव्यबाट मारिएको पनि अभियोगपत्रमा उल्लेख छ।

‘मृतक कर्तव्यबाट मरेको कुरा लाश खुम्चिएको र तल आँटीका भागमा टेकेको भन्ने मुचुल्का र संलग्न फोटोबाट पुष्टि हुनुका साथै बुझिएका विभिन्न व्यक्तिहरूको‍ कागजबाट (बयान) समर्थन गरेको देखिएको छ,’ अभियोगपत्रमा भनिएको छ। 

अजितसँग बिहे गरेकी केटीले समेत प्रहरीमा बयान गर्दा आफ्नो बुवाका साथी कन्हैया कर्माचार्यका गतिविधिमा संकेत गर्दै उनको हत्या भएको हुन सक्ने बताएकी थिइन्। कन्हैयाले आफ्नो हात हेरेर अजित मर्छ भनेको भएर घटनाबारे शंका लागेको उनले प्रहरीलाई बयान दिएकी थिइन्।

प्रहरीले बयान कागज गराएका अजितका दाजु, केटी लगायतका साक्षीहरूले कुन-कुन नम्बरबाट कस्ता-कस्ता धम्कीपूर्ण खबर आएका थिए भन्ने उल्लेख गरेका थिए। 

जिल्ला अदालत धादिङले भने उनीहरूले नै मारेको भन्ने प्रमाणले नदेखाएको भनेर सफाइ दियो।

पोस्टमार्टम रिपोर्टमा झुन्डिएको लेखेको तर प्रतिवादीहरूले नै झुन्ड्याएको भन्ने शंकाबाहेक कुनै थप प्रमाण नभएको फैसलामा उल्लेख छ। ‍फैसलाले शवको प्रकृतिमाथि कुनै विश्लेषण गरेको छैन।

धम्की दिँदै अजितको परिवारलाई आएका फोनले पनि हत्या स्थापित गर्न नसक्ने फैसलामा भनिएको छ। सुरूमा अजितको पोष्ट मार्टम नगरी गाढ्ने प्रहरी र डाक्टरबारे फैसला बोलेको छैन।

सरकारी वकिलले भने अदालतको फैसलामा चित्त नबुझेको भन्दै अहिले यो मुद्दा उच्च अदालत पाटनमा पुनरावेदन दिएको छ।

अहिले हरिभक्तलाई एकमन त अस्पतालबाट अजितको शव झिकेर दाहसंस्कार गरूँ झैं हुन्छ, अर्को मन मान्दैन।

‘दोषीहरू खुलेआम हिँडिरहेको सम्झेरै मन पोल्छ र अदालतको अन्तिम फैसलामा न्याय पाइन्छ कि भनेर कुर्न मन लाग्छ,’ उनले भने, ‘छोराको आत्माले पनि त न्याय पाएपछि शान्ति पाउला!’