बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।
अभाव झेल्दै उद्योग
विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो ।
करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ । त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा आएका हुन् । खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेका थिए । सरकारले तीन दिन अगाडिको मन्त्रिपरिषद् बैठकबाट औद्योगिक (मदिराबाहेक) क्षेत्रलाई खुला गर्ने निर्णय गरेपछि बाँकी उद्योग क्रमशः सञ्चालनमा आएका हुन् ।
पूर्ण सञ्चालन हैन, मोरङ व्यापार सङ्घका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडाले भन्नुभयो, उत्पादन कटौती गरेर सञ्चालनमा आएका छन् । कच्चा अभाव मात्रै नभई उत्पादित वस्तुको मागसमेत नभएपछि आवश्यकता हेरेर मात्रै उद्योग सञ्चालनमा आइरहेका हुन् । कच्चा पदार्थ आयात गर्ने भारत तथा तेस्रो मुलुकमा समेत कोरोना सङ्क्रमणको प्रभाव छ । कच्चा माग गर्न र बजार अभावका कारण उत्पादन कटौती गर्नुपर्ने भएको हो । उद्योगीले सेवा क्षेत्रभित्रका (स्थानीय) मजदुरलाई परिचालन गरेर तत्काल उद्योग सञ्चालन गर्ने भएका हुन् । बाहिरी जिल्ला र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उपलब्ध जनशक्तिलाई उपर्युक्त परिचालन गरिएको छ, अध्यक्ष मुन्दडाले भन्नुभयो, “उनीहरूको स्वास्थ्य सुरक्षा, सामाजिक दूरीसँगै आवास र खानपिनको व्यवस्थापन गर्न समस्या हुन्छ । ”
लामो समयसम्म बन्द भएका मेसिनको पुनः परीक्षण गरिरहेका छौँ, उद्योगी पवन सारडाले भन्नुभयो, आवश्यकता पर्ने र चल्नसक्ने उद्योग चल्लान् तर सबै उद्योग चलाउनसक्ने अवस्थामा छैनन् । उहाँका अनुसार अहिले स्टिल र वायर उद्योग चलाउनसक्ने अवस्था छैन ।
पूँजीगत खर्च न्यून रहेको र उधारो दिइसकेको सामानको भुक्तानी नभएको असर औद्योगिक क्षेत्रमा समेत परेको छ । बन्दाबन्दीले थप पीडा थपिदियो, उद्योगी सारडाले भन्नुभयो, हाम्रोमा सामान ढुवानीमा समेत विभिन्न प्रकारका समस्या छन् । उहाँका अनुसार २० देखि २५ प्रतिशत उत्पादन क्षमता प्रयोग गर्दा घाटा बेहोर्नुपर्छ तर पनि दैनिक आवश्यकताका उद्योग सञ्चालन गर्नुपर्ने दायित्वसमेत रहेको छ ।
सरकारको निर्णयलगत्तै करिडोरका जुट प्याकेजिङ, चाउचाउ, पेय पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएका छन् । त्यसबाहेक सिमेन्ट, स्टिल र वायर्स उद्योगले मेसिन परीक्षणको प्रक्रिया सुरु गरेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा मात्रै झन्डै छ सय उद्योग रहेका छन् ।

चले वीरगञ्जका ठूला उद्योग
वीरगञ्ज, वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका तीन ठूला उद्योग सञ्चालनमा आएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सरकारले तोकेबमोजिमको आवश्यक मापदण्ड पूरा गरेर सूर्य नेपाल, जगदम्बा स्टिल र हुलास स्टिल बिहीबारदेखि सञ्चालनमा आएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभएको हो । अन्य केही उद्योगले सञ्चालनका लागि सरकारले तोकेबमोजिमको आवश्यक सम्पूर्ण मापदण्ड पूरा गर्दै अनुमति लिन लागेको उहाँले बताउनुभयो ।
लकडाउनका समयमा पनि ४४ प्रकारका उद्योग सञ्चालन गर्न सकिने गरी सरकारले लकडाउन खुकुलो पार्ने जनाएपछि उद्योगीहरू उद्योग सञ्चालनका लागि स्थानीय प्रशासनसँग समन्वय गरी मजदुरलाई उद्योग परिसरमा राखेर खाने तथा बस्ने सुविधा मिलाउने लगायत सरकारले जारी गरेका अन्य सर्त पालना गर्ने गरी उद्योग सञ्चालनका आएको बताइएको छ । अनुमति पाएका ठूला उद्योगहरू जसमा १५ सय कामदार एवं कर्मचारी छन्, तीमध्ये एक सिफ्टमा २५० जनाले काम गर्ने गरी जगदम्बा स्टिल उद्योग सञ्चालनमा आएको छ भने दुई सिफ्टमा ८०–८० जना कर्मचारीले काम गर्ने गरी ४५० कर्मचारी भएको सूर्य नेपाल पनि सञ्चालनमा आएको छ । त्यसैगरी एक सिफ्टमा १० मजदुर मात्र खटाउने गरी हुलास स्टिलले पाइप बनाउने प्लान्ट मात्र सञ्चालनमा ल्याएको छ ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा साना ठूला गरी करिब १२ सय उद्योग छन्, जसमध्ये औषधि र खाद्यान्नका करिब आधा दर्जन उद्योग र करिब ५० वटा चामल उद्योग पहिल्यैदेखि सञ्चालनमा रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सञ्चालनमा रहेका भनिएका उद्योगसमेत पूर्ण रूपमा उत्पादन गर्ने गरी सञ्चालनमा नरहेको उद्योगी बताउँछन् । सञ्चालनमा रहेका पनि २५ प्रतिशत क्षमतामा मात्र सञ्चालन भएको बताउनुभयो । पछिल्लो समयमा उद्योग सञ्चालन गर्न निकै कठिनाइ रहेको, अधिकांश उद्योगी वीरगञ्जमा रहेको र वीरगञ्जबाट उद्योग आउजाउ गर्न समस्या रहेको, त्यस्तै गरी कामदार वीरगञ्ज सहर लगायत विभिन्न गाउँबाट आउनुपर्ने भएकाले लकडाउनका कारण उद्योग चलाउन असहज रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष केडियाले गोरखापत्रलाई बताउनुभयो ।

कच्चा पदार्थ, श्रमिक र आपूर्तिको समस्या
हेटौँडा, विकास निर्माणका काम र औद्योगिक प्रतिष्ठान स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सुचारु गर्न सरकारले गरेको पछिल्लो निर्णयप्रति उद्योगी व्यवसायी सकारात्मक देखिएका छन् ।
बन्दाबन्दीपछि खाद्यान्न, दूध, दानालगायतका अत्यावश्यक वस्तु उत्पादन गर्नेबाहेकका सबैजसो उद्योग प्रतिष्ठान बन्द रहेकामा पछिल्लो समय उद्योग प्रतिष्ठान खुल्ने क्रम बढेको छ । अघिल्लो सातासम्म हेटौँडा औद्योगिक क्षेत्रभित्रका १११ वटा उद्योगमध्ये २५ वटा आफ्नो उत्पादन क्षमताको १८ प्रतिशतमा उपयोग गरी सञ्चालनमा रहेका थिए ।
हेटौँडा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले शुक्रबारसम्ममा सञ्चालनमा आएका उद्योगको सङ्ख्या ३५ पुगेको र ती उद्योग उद्योग आंशिक रूपमा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
बहुराष्ट्रिय कम्पनीहरू बर्जर, एसियन पेन्ट्स, अल्कोवा सीएसआई नेपाल प्रालिलगायतका उद्योग सञ्चालनका लागि सरसफाइलगायतको तयारीमा रहेको बताउँदै उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उद्योग सञ्चालन गरिएको बताउनुभयो । उद्योग सञ्चालनमा अझै केही अन्योल रहेको र कच्चा पदार्थ तथा उत्पादित वस्तु ढुवानीमा प्रदेश एवं सङ्घीय सरकारको सहयोग र समन्वय आवश्यक भएको भन्दै उहाँले भन्नुभयो, उत्पादित वस्तुको माग नरहेको, बजारसम्म आपूर्ति गर्न र कच्चा पदार्थ आयातमा समस्या रहेको छ । उहाँले भन्नुभयो, “मुख्य बजार काठमाडौँ भएकाले आपूर्तिको लागि सहज वातावरण सरकारले सहज वातावरण निर्माण गरिदिनुपर्छ । ”
बन्दाबन्दीपछि उद्योग प्रतिष्ठानका कामदार कर्मचारी घर गएकाले उनीहरूलाई ल्याएर उद्योग सुचारु गर्न कतिपय उद्योगलाई समस्या हुँदा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड स्वास्थ्य सुरक्षाको आवश्यक व्यवस्थासहित भौतिक दूरी कायम राखेर उद्योग सञ्चालन गरिरहेको उद्योगस्थित अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष जयराम धितालले जानकारी दिनुभयो । दुई साताअघि बाट सञ्चालनमा आएको युनिलिभरले १८ जना मजदुर राखेर साबुन उत्पादन गर्दै आएकामा आगामी साताबाट टुथपेस्ट उत्पादन गर्नेगरी प्लान्टको स्यानिटाइज, सरसफाइलगायतको काम थालेको छ । औद्योगिक क्षेत्रका उद्योगहरूमा झन्डै पाँच हजार कामदार कर्मचारी कार्यरत रहेका छन् ।

वातावरण बनाउन आग्रह
भैरहवा, लकडाउन जारी रहे पनि उद्योग सञ्चालन गर्ने सरकारी निर्णयको स्वागत गर्दै भैरहवा क्षेत्रका उद्योगीले यसका लागि वातावरण निर्माण गर्न आग्रह गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउँदै विभिन्न उद्योग सञ्चालनमा ल्याउने निर्णय गरे पनि बजार नखुलेसम्म उद्योग सञ्चालनको वातावरण तयार नहुने उनीहरूको तर्क छ ।
बजारसम्म उत्पादन पु¥याउनका लागि सबैभन्दा पहिला बजार खुल्नुपर्ने अनि मात्रै उद्योग सञ्चालन गर्न सकिने गोयन्का ग्रुपका निर्देशक एवं एभरेस्ट रोलिङ मिलका सञ्चालक अरुणकुमार गोयन्काले बताउनुभयो । “अहिले उद्योगमा कच्चा पदार्थको अभाव छ, कामदार घर फर्केका छन्, बजार बन्द छ, यस्तो बेला उद्योग सञ्चालन सम्भव हुँदैन,” उहाँले भन्नुभयो, “स्थिति सहज भएर बजार खुलेपछि मात्र उद्योग सञ्चालन गर्न सकिन्छ । ”
बजार नै बन्द भएको अवस्थामा उद्योग सञ्चालन गर्दा उत्पादनले बजार नपाउने सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशकसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेश अग्रवालले बताउनुभयो । भैरहवा–लुम्बिनी करिडोरमा मात्र २५ वटा ठूला उद्योग सञ्चालनमा छन् । खाद्यान्न उत्पादन तथा प्रशोधन गर्ने, दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योग, दाल, चामल उद्योग, औषधि तथा औषधिजन्य सामग्री उत्पादन गर्ने उद्योगलगायतका उद्योगहरू भने यसअघि देखि नै सञ्चालनमा छन् ।
अहिलेकै अवस्थामा अत्यावश्यकबाहेकका अन्य उद्योग सञ्चालन गर्न सम्भव नहुने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो । उद्योग कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रदेश ५ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले शुक्रबार उद्योगी व्यवसायीसँग छलफलसमेत गरेको छ । छलफलका क्रममा तीन दिनभित्र कार्यविधि बनाएर उद्योग सञ्चालनको मापदण्ड बनाउने निर्णय भएको छलफलमा सहभागी राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

उद्योग खुल्ने अवस्था छैन
बुटवल, बन्दाबन्दी जारी रहेकै अवस्थामा उद्योग सञ्चालन गर्ने वातावरण अझै तयार नभएको बुटवलका उद्योगीले दाबी गरेका छन् । बुटवल औद्योगिक क्षेत्रमा रहेको सनफिटिङ्ग प्रालिमा ७५ जना कामदार काम गर्छन् तर अधिकांश अहिले आ–आफ्नो घर गएका छन् ।
उद्योगमा भएका केही भारतीय कामदार घर जान नपाएर बसेका छन । उद्योगमा बाँकी रहेको थोरै कच्चा पदार्थले उद्योग केही दिन चलेको छ तर उत्पादित सामान बिक्री गर्ने बजार नहुँदा ती पनि त्यत्तिकै थन्किएका छन् । एक उद्योगका अध्यक्ष महेश थैव लकडाउन नखुलिकन उद्योग सञ्चालन गर्ने वातावरण नहुने बताउनुहुन्छ ।
उहाँको भनाइ छ, उद्योग चलाएर के गर्नु ? उत्पादित सामान बिक्री गर्ने बजार खुलेको छैन, निर्माणका काम रोकिएका छन् । अध्यक्ष थैवले घर जान नपाएका भारतीय कामदारले उद्योगभित्र बाँकी रहेको कच्चा पदार्थले उद्योग चलाए पनि अब कच्चा पदार्थको समस्या परेको बताउनुभयो ।
उता बुटवल धागो कारखानाका निमित्त प्रवन्धक डोलराज भण्डारीले लकडाउनले उद्योग क्षेत्रमा धेरै असर परेको बताउँदै उत्पादित सामान बजारसम्म लाने र त्यो किन्ने ग्राहकको समस्या रहेकाले लकडाउन नखुलीकन वातावरण सहज नबन्ने बताउनुभयो ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सहायक प्रबन्धक गोपाल भण्डारीले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरू अधिकांश बन्द भएको बताउँदै कच्चा पदार्थ स्टक भएका केही उद्योग चलेको देखिए पनि उत्पादित सामान बजारमा जान नपाएका कारण चलेका उद्योग पनि अब बन्द हुने अवस्थामा रहेको जानकारी दिनुभयो । अधिकांश उद्योगका कामदार घर गएकाले उनीहरू नफर्किएसम्म पूर्ण क्षमतामा उद्योग चलाउने वातावरण नरहेको अधिकांश उद्योगीको भनाइ छ ।

पोखरामा थप तलब माग
पोखरा, लकडाउनको समयावधि जारी रहेका बेला पोखरामा आजबाट ५० प्रतिशतभन्दा बढी उद्योग सञ्चालनमा आएका छन् । आंशिक रूपमा उद्योग सञ्चालमा आए पनि मजदुरमा समस्या देखिन थालेको छ । सरकारले लकडाउनको अवधिमा पूरा तलब दिने भने पनि कतिपय उद्योगी, व्यवसायीले तलब नदिएको गुनासो मजदुर नेताको छ । काममा आएका मजदुरले दोब्बर तलबको माग अगाडि सारेपछि झनै जटिलता थपिएको छ । नेपाल कारखाना श्रमिक सङ्घका केन्द्रीय उपमहासचिव केशव भट्टराईले जोखिम मोलेर काम गरेको मजदुरको तलब दोब्बर हुनुपर्ने बताउनुभयो ।
अर्कोतर्फ सरकार निकट अखिल नेपाल मजदुर सङ्घका नेता लोकबहादुर भुजेलले दोब्बर तलब नभए पनि तलबको ५० प्रतिशत हुनुपर्ने बताउनुभयो । मजदुर समस्याले उद्योगी द्विविधामा रहेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन पोख्रेलले सरकारले नीतिगत निर्णय नगर्दा मजदुरको समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विपत्को बेला सरकारले पूरा तलब दिनु भने पनि उद्योगी, व्यवसायीले दिनसक्ने अवस्था छैन । हामीले सरकार, उद्योगी÷व्यवसायी र मजदुरबीच ३३÷३३ प्रतिशतको जिम्मेवारी भएमा सबै पक्षलाई न्याय हुने प्रस्ताव राखेका छौँ, सरकारले चाँडै निर्णय गर्नुपर्छ । ”
पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका पूर्वअध्यक्ष चन्द्रबहादुर राजभण्डारीले लकडाउन अवधिभर पूरा तलब दिनुपर्छ भन्ने नीतिले समस्या ल्याएको बताउनुभयो । उहाँले काम नगरी तलब पाउने भए किन काम गर्ने भन्ने सोचाइ मजदुरमा छ । हुन पनि अहिले पोखरामा ३५ देखि ४० प्रतिशत मजदुरले मात्रै काम गरेका छन् । यसबारेमा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालका प्रमुख भूषण उपाध्यायले भन्नुभयो, “उद्योग सञ्चालन गर्ने उद्योगी सकारात्मक देखिए पनि निर्देशिकाअनुरूप आवासीय रूपमा मजदुरलाई व्यवस्थापन गर्न सकिएको छैन । ”
हाल पोखरा औद्योगिक क्षेत्रभित्रका ७२ वटा उद्योग रहे पनि ३४ वटा उद्योग शुक्रबारवाट सञ्चालनमा छन् । यसबारेमा गण्डकी आयल प्रालिका कार्यकारी निर्देशक विक्रम कर्मचार्यले मजदुरलाई प्रतिष्ठानले आवश्यक व्यवस्थापन गरेको बताउनुभयो । उहाँले आफ्नो उद्योगमा खाजा, खाना, चियादेखि लिएर दैनिक एक सय रुपियाँ भत्ता दिएको वताउनुभयो । केहि उद्योगहरूले तलब नदिए पनि पेस्कीस्वरूप मजदुरलाई तलब दिएको उहाँको भनाइ थियो ।
उहाँले सरकारी उद्योग प्रतिष्ठानलाई एउटै नियम लागू गर्न खोज्दा समस्या आएको हो । मजदुरको तलब वृद्धि गर्दा त्रिपक्षीय सम्झौता अनिवार्य हुन्छ भने सङ्कटको बेला पनि सम्झौता हुनुपर्ने जोड दिनुभयो । उहाँले भन्नुभयो, “एउटा बिस्कुट उत्पादन गरेर बजार पु¥याउँदा ३० वटाभन्दा बढी सामाग्री चाहिन्छ । अहिलेको अवस्था कति कठिन छ, सरकारले पनि बुझ्नु पनि प¥यो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको सङ्कट समाधान गर्ने जिम्मा राज्यको हुने भएकाले सरकारले बुद्धिमतापूर्ण निर्णय लिनुपर्ने बताउनुभयो ।

सञ्चालनको तयारी
नेपालगञ्ज, सरकारले लकडाउनकै अवधिमा अधिकांश उद्योग सञ्चालन गर्ने अनुमति दिएपछि बाँकेका उद्योगी, व्यवसायीले उद्योग सञ्चालन गर्ने तयारी सुरु गरेका छन् । सरकारको निर्णयलाई अधिकांश उद्योगीले सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनको तयारी गरिरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो ।
प्रमुख पुनका अनुसार उद्योगीसँग कामदारलाई औद्योगिक क्षेत्र परिसरभित्रै बस्ने खाने व्यवस्थाका साथै सुरक्षा स्वास्थ्य सामग्री प्रदान गरेर सामाजिक दूरीसहित सीमित कामदार राखेर भए पनि उद्योग सञ्चालन गर्न आग्रह गरिएको छ । आइतबारबाट उद्योग सञ्चालन गर्ने उहाँहरूको तयारी छ तर त्यसअघि सरकारले उद्योगका कामदारलाई आउने जाने व्यवस्था मिलाउनुपर्ने र कच्चा पदार्थ उपलब्ध गराउनुपर्ने उहाँहरूको माग छ, पुनले भन्नुभयो ।
उहाँले आइतबार फेरि एकपटक उद्योगीसँग छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो । त्यसपछि उद्योग सञ्चालन गर्नेबारेको सबै कुरा प्रस्ट हुने प्रमुख पुनको भनाइ छ । नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास सङ्घका अध्यक्ष राजेश मास्केले उद्योग सञ्चालन गर्न औद्योगिक क्षेत्रभित्रका सबै उद्योगी तयार रहेको जनाउँदै तर सरकारले त्यसका लागि सकारात्मक वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हामी आफैँ छिटोभन्दा छिटो उद्योग सुरु गर्न चाहन्छौँ, सबैभन्दा बढी क्षति हामीलाई नै भएको छ तर सुरु गर्ने वातावरण नबनेसम्म समस्या छ, उहाँले भन्नुभयो । वातावरण बनाउनका लागि औद्योगिक क्षेत्र व्यवस्थापनसँग छलफल भइरहेको पनि अध्यक्ष मास्केले जानकारी दिनुभयो । उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सरकारको निर्णय सकारात्मक रहेको जनाउँदै तर अझै पनि उद्योग सञ्चालन गर्ने वातावरण नबनेको जनाएको छ । नेपालगञ्जमा कोरोना भाइरसका धेरै सङ्क्रमित फेला परेकाले यहाँ लकडाउन निकै कडा पारिएको हुँदा तत्काल उद्योग सञ्चालन असम्भवजस्तो देखिएको सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।