कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले लगाएको लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरुले घरघरमा पैसा पुर्याउन थालेका छन् । लकडाउनका समयमा आफ्ना सहकारीका सदस्यहरुलाई पैसाको कुनै समस्या नपरोस् भनेर यहाँका सहकारीहरुले बढीमा रु. २५ हजारसम्मको रकम घरघर मै पुर्याउन थालेका हुन् ।

सूर्यविनायकमा रहेको ज्योतिविकास बचत तथा ऋण सहकारी संस्था, हिमाल बचत तथा ऋण सहकारी संस्था, सबैको बचत तथा ऋण सहकारी संस्था र कौशल्टारमा रहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई घरघरमा पैसा पुर्याउन थालेको हो ।

ज्योतिविकास सहकारीका अध्यक्ष यादव राईले सरकारले लकडाउन गरेपछि सहकारी बन्द भएपनि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सहकारीले आफ्ना सदस्यलाई घरघर मै पैसा प्र्याउन थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“लकडाउन पछि सहकारी पनि बन्द भयो, कर्मचारीलाई पनि बिदा दियौ, तर सदस्यहरु सहकारीमा आएर फर्कने र पैसा चाहियो भनेर फोन आउन थालेपछि घरघर मै सेवा दिन थालेका छौ ।” सदस्यहरुको समस्यालाई बुझेर उनीहरुको फोन आउँने बित्तिकै आधाघण्टा भित्र बढीमा रु. २५ हजारसम्म घर मै पुर्याईदिने व्यबस्था गरेको छ । खातामा पैसा छ भने घरमा पैसा लगिदिने र चेक लिएर फर्कने गरिएको छ । यसले अप्ठ्यारोमा सदस्यहरुलाई निकै राहत मिलेको उहाँ बताउनुहुन्छ ।

हिमाल सहकारीका कार्यकारी प्रमुख ईश्वर राईले पछिल्लो समयमा धेरै सदस्यले पैसा माग्न थालेको बताउनुभयो । सुरुमा धेरै सदस्यले खाद्यान्न जोहो गर्न पैसा लगेको र अहिले लकडाउन लम्बिएपछि सदस्यहरुले पैसा माग गर्न थालेका हुन् । यो सहकारीले सदस्यहरुलाई मास्क समेत वितरण गरेको छ ।

लकडाउन लम्बिदा घर तथा भाडामा बस्नेहरुको खाद्यान्न लगायतका सामाग्री सकिदै गएपछि सहकारीमा आफूले जम्मा गरेको रकम माग्न थालेको बताउदै सहकारीले घर मै रकम र मास्क पुर्याइ दिएपछि सदस्यलाई सहज भएको उहाँको भनाई छ ।

मध्यपुरथिमि राधेराधेका सन्तोष न्यौपानेले भन्नुभयो–“जोहो गरेको पैसा सकियो, घरभाडा र बत्तिको पैसा पनि तिर्नै पर्यो, किनेको खाद्यान्न पनि सकिन थाल्यो, जम्मा गरेको पैसा झिक्न फोन गरेको आधा घण्टा मै सहकारीले रु. २५ हजार घरमै ल्याईदियो, अब ढुक्क भए ।”

नागरिक विकास सहकारीका अध्यक्ष नूनम राईले सहकारी पनि बन्द भएको अबस्थामा समस्या परेका आफ्ना सदस्यको खातामा भएको पैसा माग गर्दा घरघरमा पुर्याउने गरेको बताउदै यो सेवाले सहकारी सदस्यहरुलाई निकै सहज भएको बताउनुभयो ।

कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले लकडाउन थपेको थप्यै छ । कोरोना सङ्क्रमण थपिदा हुने जोखिमलाई ध्यान दिदै सरकारले लकडाउनको अबधी बढाएपछि यहाँका बासिन्दालाई आर्थिक संकट परेका छन् ।

लकडाउनसंगै बैंकहरुले सेवा बन्द गरेपछि भक्तपुरका बासिन्दालाई समस्या परेको छ । भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंकहरु लकडाउनयता बन्द भएपछि खातामा जम्मा गरेको पैसा झिक्न पाएका छ्रैनन् ।

सूर्यविनायक नगरपालिका सिपाडोल ८ का राजन खड्काले राष्ट्रिय वाणिज्य बैंकमा राखेको आफ्नै पैसा झिक्न नपाएको गुनासो गर्नुभयो । पटकपटक सूर्यविनायक शाखामा गएको र फोन गरेर सोध्दा पनि बैंक नखुल्ने जनाउने गरेको बताउदै उहाँले आफूले एटिएम कार्ड नलिएकाले समस्या परेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“हामी गाउँका मान्छे एटिएम कार्ड चलाउदैनौ, बैंकमा म जस्ता कयौ व्यक्ति पैसा लिन आउदै फर्कदै गरेका छन् तर बैंकले सेवा दिएको छैन, अप्ठ्यारोमा सेवा नदिने यस्ता बैंक जनताका लागि के काम ?” यस्तो संकटको बेलामा सातामा एक दिन मात्रै भएपनि सबै बैंकले सिमित रकम झिक्ने व्यबस्था गर्नुपर्छ ।” उहाँले घरमा भएको पैसा सकिएकाले खातामा भएको पैसा झिक्न खोज्दा नपाएको गुनासो गर्नुभयो ।

भक्तपुर नगरपालिका १ च्यामासिंहका प्रविण श्रेष्ठले सरकारी र निजी बैंक नखुल्दा समस्या परेको बताउनुहुन्छ । लकडाउन कहिलेसम्म लम्बिन्छ ठेगान नभएको बेलामा घरमा खाद्यान्न, औषधिको जोहो गर्न र विरामी परे उपचार गर्न केही पैसा घरमा राख्नु पर्ने बेलामा खातामा भएको आफ्नै पैसा झिक्न नपाउनु बिडम्बना भएको बताउनुहुन्छ । कोहीसंग सापटी र ऋण समेत नपाईने अहिलेको अबस्थामा बैंकमा रहेको आफ्नो रकम झिक्न निश्चित समय सेवा दिनेगरि बैंकहरु संचालन गर्न सरकारले निर्देशन दिनु पर्ने स्थानीयको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here